सहकारीलाई उत्पादनसँग जोडेर नमुना ‘तीर्थ स्थल’ बनाइने: सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारीको ११औँ साधारण सभा सम्पन्न
बुटवल, असोज ६ सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लि., बुटवल-४, रुपन्देहीको ११औँ वार्षिक साधारण सभा संस्था अध्यक्ष मनहरी बस्यालको अध्यक्षता र ज्येष्ठ सदस्य शालिकराम सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। सभामा अध्यक्ष बस्यालले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई उत्पादनमूलक क्षेत्रसँग जोड्ने रणनीतिक योजनाहरू प्रस्तुत गर्नुभएको थियो। तत्कालिन उपाध्यक्ष दिवाकर घिमिरेले स्थानीयस्तरमा उत्पादन बढाउँदै सहकारीलाई सबैका लागि अध्ययन तथा अवलोकन गर्ने नमुना ‘तीर्थ स्थल’का रूपमा स्थापित गर्ने दूरदर्शी दृष्टिकोण व्यक्त गर्नुभएको थियो। त्यस्तै संस्थापक अध्यक्ष कृष्ण पाण्डेले संस्थाको विकासमा सबैको सहकार्यमा जोड दिदै सहकारी काे मर्म अनुसार अगाडि बढे सामाजिक परिवर्तन गर्न सकिने बताउनु भयो। सभामा कोषाध्यक्ष रामकृष्ण चापगाईंले आर्थिक प्रतिवेदन र लेखा संयोजक मनाेज गाैतमले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव बालकृष्ण बस्यालले गर्नुभएको थियो। साथै, यस सभाले मनहरी बस्यालको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको छ। जसमा उपाध्यक्षमा रामकृष्ण चापगाईं, सचिवमा दिवाकर घिमिरे, कोषाध्यक्षमा मनोज गौतम तथा सदस्यहरूमा गोपालप्रसाद बस्याल, कृष्ण मल्ल, गुरुप्रसाद भुसाल, विष्णुमती ज्ञवाली, र कृष्णबहादुर कार्की हुनुहुन्छ। त्यस्तै विमल घिमिरेको संयोजकत्वमा गठित लेखा समितिमा बोधराज शर्मा र कृष्णप्रसाद पौडेल सदस्य चयन हुनुभएको छ। संस्थामा हाल १०७ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी रु. ५,१५,१०,०००/- र जम्मा निक्षेप रु. ४,५०,४०,०३६.५१/- पुगेको छ। यस वर्ष रु. १,१२,८०,६६५.४३/-संस्था काे ब्यवसायिक काराेवार गरेको संस्थाले आगामी वर्षका लागि रु. १,९९,५०,०००/- को काराेवार लक्ष्य राखेको छ। साथै, सहकारीको सैनामैनामा आफ्नै जग्गामा निर्माणाधिन भवनमा, केहि महिना भित्रै कापी उद्योग ,नेपाली कागज उद्योग र स्टेसनरी तथा मसलन्द उत्पादनकाे तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष मनहरि बस्यालले जानकारी गराएको छ।




