काठमाडौं —नेपाल र भारतबीच डोपिङ नियन्त्रणमा क्षेत्रीय सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय बैठक सम्पन्न भएको छ। भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त संवादमा राष्ट्रिय एन्टी डोपिङ एजेन्सी नेपालका संस्थापक संयोजक डा. असीम भण्डारी र भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सीका महानिर्देशक तथा सिइओ आनन्द कुमारबीच गहिरो छलफल भएको हो।
उक्त भेटवार्तामा भारतले डोपिङ विरुद्ध आफ्नो प्रारम्भिक संघर्ष, स्रोतको अभाव, सरकारी हस्तक्षेप, महासंघहरूसँगको विश्वासको कमी र विश्व डोपिङ नियन्त्रण संस्था (WADA) को सदस्यता पाउनका लागि व्यहोर्नुपरेको कठिनाइको प्रसंग उल्लेख गर्यो। “एजेन्सी बनाउनु सजिलो हुन्छ, तर विश्वासिलो भएर काम गर्नु चुनौतीपूर्ण हुन्छ,” भन्दै महानिर्देशक कुमारले पारदर्शिता र जवाफदेहिताको सन्देश दिए।
नेपालतर्फबाट डा. असीम भण्डारीले कानुनी स्वतन्त्रताको अस्पष्टता, प्रक्रियागत ढिलाइ, गैर–ओलम्पिक महासंघहरूमा सचेतना अभाव, सप्लिमेन्ट प्रदूषण, निजी लिगको अनुगमन अभाव, र कृत्रिम बुद्धिमत्ता अर्थात एआइमा आधारित डिजिटल निगरानी प्रणालीको खाँचो उल्लेख थिए।
उनले भने, “एन्टी डोपिङ भनेको खेलाडी समात्ने अभियान होइन, उनीहरूको सपना जोगाउने प्रणाली हो।” उनले स्वच्छ खेलकुदलाई केवल उपकरण वा परीक्षणको विषय नभई नैतिकताको सवाल मान्नुपर्नेमा जोडदिए ।
दुबै मुलुकले दक्षिण एसियाली प्रशिक्षण केन्द्र स्थापना, अन्तरदेशीय विशेषज्ञ आदान–प्रदान कार्यक्रम, पारा खेलाडी तथा ग्रामीण क्षेत्रका लागि बहुभाषिक डिजिटल शिक्षा अभियान जस्ता साझा योजनाहरू अगाडि सारेका छन् ।
भारत–नेपालबीचको यो संवाद केवल औपचारिक कूटनीति मात्र होइन साझा चेतना र कार्यान्वयनको आह्वान हो र अर्कोतर्फ, नेपालमा एकै महासंघबाट पाँच खेलाडीमा डोपिङ भेटिनु भनेको प्रणालीमै गम्भीर कमजोरी देखिनु हो भन्ने निष्कर्ष पनि छलफलपछि निस्किएको डा भण्डारीले जानकारी दिए ।





