जीवराज आश्रितको योगदान विद्यालयस्तरीय चित्रकला प्रतियोगिता

 

बुटवल, साउन १८ । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ८२ औं जन्मजयन्तीको अवसरमा आइतबार जीवराज आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रुपन्देहीका १७ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतिष्ठानले नयाँ पुस्तालाई उहाँको व्यक्तित्व, कृतित्व र समाज रुपान्तरणमा पु–याएको योगदानबारे जानकारी दिन प्रतियोगिता आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष युवराज घिमिरेले जानकारी दिनुभयो ।
बुटवलमा रहेको प्रतिष्ठानको आफ्नैं भवनमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीहरूले जीवराज आश्रितको राजनीतिक जीवन, उहाँले उठाएका वर्गीय समानता, समाजवाद, र जनताको अधिकारको पक्षमा उभिएका विचारहरूलाई आ–आफ्नो चित्रमार्फत प्रस्तुत गरेका थिए । आजको पुस्तालाई जीवराज आश्रितजस्ता नेता बारे जानकारी दिन र समाज रुपान्तरणमा सशक्त विचारको आवश्यकता छ भन्ने सन्देश दिन चित्रकला प्रतियोगिता एउटा प्रभावकारी माध्यम हो भन्ने ठानेर यो कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रतियोगितामा कालिका मानवज्ञान माविका भिमल राना प्रथम, पामिर बोर्डिङका राजन थापा द्धितीय र दीप बोर्डिङका पृष्टि पुन तृतीय र न्यू होराइजनकी दीपा थापा सान्वतना भए । चित्रकला प्रतियोगिता केवल रङ र रेखाको खेल मात्र नभई विचार, चेतना र प्रेरणाको रंगमञ्च बनेको कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य नेत्र पन्थीले बताउनुभयो । प्रतिष्ठानकी प्रथम उपाध्यक्ष कल्पना थापाको स्वागत तथा महासचिव विष्णु केसीको सञ्चालनमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष देवेन्द्र घिमिरे, नेकपा आश्रित स्मृति प्रतिष्ठान सल्लाकार शिवराज सुवेदी, प्रतिष्ठानका डा.सागर न्यौपाने, संंरक्षक माया न्यौपाने, मुख्यमन्त्रीका शिक्षा विज्ञ दल बहादुर गुरुङ्ग लगायतले आश्रितको व्यक्तित्व र योगदानको बारेमा चर्चा गरेका थिए । प्रतियोगिताको निर्णयक मण्डलको संयोजक बेल प्रसाद थापा रहनु भएको थियो ।
जीवराज आश्रित नेपाली वाम राजनीति र समाज परिवर्तनको अभियानका एउटा शिखर व्यक्तित्व मानिन्छन् । उहाँले विद्यार्थी राजनीतिदेखि लिएर राष्ट्रिय राजनीतिको उच्च तहसम्म सक्रिय भूमिका निर्वाह गर्नुका साथै सिद्धान्तमा अडिग रही जनपक्षीय आन्दोलनलाई जीवनभर अगाडि बढाउनु भएको थियो । उहाँको जीवनले ‘राजनीति भनेको सत्ता प्राप्तिको खेल होइन, समाज सेवा र रूपान्तरणको माध्यम हो’ भन्ने दृष्टिकोण स्थापित गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.