गाईजात्रा- इतिहास र अभ्यास

सुनिल उलक-
बिगत केही वर्ष देखि गाईजात्राको रुपमा चार परी र एक जोकर नाच देखिरहेकाहरुका लागि गाईजात्राको बिशेष जात्रा नै थाहा छैन । कुनै बेला ताहामचाका रुपमा मृतकको परिवारले मृत्यु भएकाको सम्झनामा निकालिने ताहासाँ, डोकोमा कपडा बेरेर त्यसमाथि लामो बाँस बाँधेर जतिसक्दो अग्लो बनाएर मृतकको कपडा तथा तस्विर राखेर डुलाइने गाईको प्रतिकलाई ताहामचा भनिन्थ्यो ।

हाम्रो किँवदन्तीहरुका अनुसार जनैपूर्णिमाको भोलिपल्ट मात्र स्वर्ग जाने ढोका खुला हुने तथा स्वर्गको ढोकासम्म पुग्नका लागि बिचमा डरलाग्दो भयावह नदी बैतरणी नदी पार गर्नुपर्ने हाम्रा आख्यानहरुमा उल्लेख गरिएको छ । यस नदी तर्नका लागि मृतकले जीवनमा राम्रा र सुकीर्ति फैलिने कामहरु गर्नुपर्दछ । तर यो सबैमा हुँदैन । तर गाई मात्र यस्तो जनावर हो जसले जस्तै अवस्थामा पनि बैतरणी नदी तर्न सक्दछ । हामीले बिभिन्न ब्रम्हकर्महरु गर्दा पण्डितले गाई दान गर्न लगाउँछन् । ताकी गाईको पुच्छर समाएर हाम्रो पनि उद्दार होस । गाईजात्राको दिन पनि मृत ब्यक्तिहरुको स्वर्ग प्रवेश होस भनेर गाईको प्रतिक बनाएर स्वर्ग जाने बाटो खुला गरिदिने गरिन्छ । जीवनमा जतिसुकै पापकर्म गरे पनि गाईको प्रतिक बनाएर त्यसमा मृत व्यक्तिको परिचय झल्किने कपडा तस्विर राखेर बजार परिक्रमा गराइ स्वर्गतर्फ बिदाइ गरिन्छ ।
यो माथि लेखिएको हाम्रा आख्यानका कुरा भए । तर गाईजात्राको शुरुवात गोपालवंशीको समयमा नै भएको तथ्य भेटिन्छ । गाईपालनमा निर्भर रहेका गोपालहरुले गाईपूजाका दिन गाईलाई पूजा गर्दथे । भोलिपल्ट गोरुलाई पूजा गर्दथे । र गाई र गोरुलाई साथमा चरनका लागि छोड्दथे । अन्य दिनहरुमा गाई र गोरुका लागि अलग्गै चरनमा राखिन्थ्यो । यसरी वर्षको एकपटक एकसाथ चरनमा छोडेपछि गाई र गोरुबीच समागम हुन्थ्यो । जसले गर्दा गाईको गर्भाधान हुन्थ्यो । यसरी गाई पूजा गरेको ठिक २८३ दिन पछि गाईले स्वस्थ्य बाच्छो जन्म दिन्थ्यो । यो समय गोपालहरुका लागि खुशीको अवसर हुन्थ्यो । उनीहरुले नयाँ जन्मेको बाच्छो, गाई र गोरु साथमा लिएर डुलाउँथे । यो एकप्रकारको उत्सव नै हुन्थ्यो । यस दिनलाई गाईजात्राका रुपमा मनाउने गरिन्थ्यो ।
गोपालहरुका समयमा घडी पला तथा पञ्चांगको समेत राम्ररी गणना भइसकेको थिएन । त्यो समय गोपालहरुले जुन २८३ दिनको दिन गाई, गोरु र स्वस्थ बाच्छो डुलाएर खुशीयाली मनाए, त्यसैलाई नै हामी गाईजात्राका रुपमा मनाउँछौ । गोपालहरुले यसरी गाईको स्वस्थ्य बाच्छो जन्माउने समयावधीलाई नै सम्वत अर्थात एक वर्षका रुपमा लिन्थे । सम (स्वस्थ्य) + वत्स(बाच्छो) + र (जन्म) भएको भन्नु नै सम्वतका रुपमा लिइयो । पछि लिच्छवी कालमा चन्द्र गणना गर्न थालेपछि चन्द्र वर्षका रुपमा ३६० दिनलाई एक वर्षका रुपमा गणना हुन थाल्यो ।
यसरी गोपालहरुले स्वस्थ्य बाच्छो जन्मेको खुशियालीमा मनाउने पर्व मल्लकालमा प्रताप मल्लले यसमा मृत व्यक्तिको सम्झनामा बजार परिक्रमा गर्ने र शोकको त्यस दुख भुल्नका लागि हास्य ब्यंग्यहरु थपिएको थियो । राजा प्रताप मल्लका छोराहरुको लगातार निधन भएपछि दिन रात शोकले संसार बिर्सेर बसेकी रानीलाई मृत्यु सबैको घरमा हुन्छ, हाम्रो घरमा मात्र शोक रहेको होइन भन्ने देखाउन शहरमा भएका सबैलाई वर्षभरि मृत्यु भएकाहरुको प्रतिक निकाल्न लगाएका थिए । रानीको साथ राजा प्रताप मल्ल हनुमानढोका दरवारमा बसेर मृत्यु भएकाहरुको संख्या देखाए । साथै दुखको यस्तो क्षण बिर्साउन हसाउनका लागि बिभिन्न किसिमका हाउभाउ र सज्जामा झाँकी र ख्यालीहरु निकाल्ने समेत गरिएको थियो । प्रताप मल्लको समयमा शुरु भएको भिन्न प्रकारको गाईजात्रा आज पनि उपत्यकामा चलिरहेको छ । साथै उपत्यका छोडेर नेपालका बिभिन्न गाउँ शहर पुगेका नेवारहरुले पनि यस जात्रालाई निरन्तरता दिइरहेको पाउँछौ ।
तर पोखरामा भने केही वर्ष देखि ख्याली तथा हास्यब्यङ्ग्यहरु भने देखाउन छोडेको जस्तै भएको छ । गाईजात्राको मर्म नै छोडेर नृत्यलाई प्राथमिकता दिँदै प्रतियोगितामा कसरी जित्ने खेलमा केन्द्रित हुँदै गएको देखिन्छ । पोखरामा जुन नृत्यलाई गाईजात्रा भनेर बजार परिक्रमा गर्ने तथा प्रतियोगिताका रुपमा ठूला धनराशी बाँड्ने काम हुन्छ । त्यो वास्तवमा हाम्रो संस्कृतिको रुपमा नभएर केवल मनोरञ्जनका रुपमा शुरु भएको नृत्य हो ।
बिक्रम सम्वतको १९५० को दशकको अन्त तिर पोखराका नामुद संगीतकार रत्नकुमार बिजुक्छेले एउटा नृत्यको शुरुवात गरेका थिए । रमाइलोको लागि शुरु गरिएको यो नृत्य वास्तवमा कृष्ण जन्माष्टमी लक्षित थियो । यस नृत्यका लागि साँपारुकै दिन पहिलो नृत्य देखाइएको थियो । यस नृत्यको नाम दही लिला राखियो । चार गोपिनी र एक कृष्ण यसका कलाकार थिए । साथमा बाजा टोली पनि रहेको थियो । यो नृत्यमा गोपिनीहरुको हातमा भएको दहीको घडा कृष्णले खोस्न खोज्दथे ।
यो लुकाछिपीको खेल निकै रमाइलो हुन्थ्यो । साथमा बाजाको तालमा नृत्यको अनूभुति पनि हुन्थ्यो । अन्तमा कृष्ण दहीको घडा खोस्न सफल हुन्थ्यो । र यहि घडामा भएको दही नृत्य हेर्न बसेका दर्शकहरु माझ छरिन्थ्यो । कृष्णको प्रसादका रुपमा सबैले दही चाख्दथे । यसरी शुरु भएको दही लिला बि.सं. २०१२-१३ सालसम्म उस्तै रह्यो । पछि बिस्तारै दहीको भाँडा बोक्न छोडिए पनि कृष्ण र गोपिनीको नृत्य भने भइरह्यो । तर पछि नृत्यमा अचानक परिवर्तन देखियो । कृष्ण जोकर बने भने गोपिनी परीका रुपमा परिवर्तन गरियो । अचेल त नाम पनि नयाँ दिइएको छ, तायाः मचाः ।
किन नृत्य र नाम परिवर्तन भयो मलाई खासै ज्ञान छैन । तर पोखराकै एक नाम चलेका संस्कृतिकर्मीसंग यस विषयमा जिज्ञासा राख्दा आफ्नै किसिमकले ब्याख्या गर्दै मलाई भने, एक राक्षसले लामो र कठिन तपस्या गरेपछि स्वर्गका राजा इन्द्रको सिंहासन नै डगमगाउन थाल्यो । त्यसपछि इन्द्रले आफ्ना दरवारमा रहेका अप्सराहरु रम्भा, मेनका, उर्वशी र तिलोत्तमालाई तपस्या भंग गर्न पठाए । ति अप्सराहरुले तपस्यारत राक्षस सामु मोहित हुने नृत्य नाच्न थाले । साथमा एक जोकरले पनि बिभिन्न हाउभाउ गर्दै तपस्या भंग गर्न खोजे । तर सकेनन्, अप्सराहरु स्वर्गमा फर्किए, इन्द्रले सोधे । तर तपस्या भंग गर्न नसके पछि फर्किएर भने तायामता । अर्थात नेवारी भाषामा सुन्दै सुनेनन् भने । यहि तायामता नै अप्रभंश भएर तायामचा भएको भनेर सुनाए । हुन त यो कुरा धेरैलाई सुनाउन नपाउँदै वहाँको स्वर्गवास भयो । यदि रहनु भएको भए आज तायामचा भन्दै हिड्ने सबैले यहिँ कथालाई वास्तविक रुपमा वर्णन गर्थे ।
हुन त नेवारहरु यो कथामा बिश्वास गर्थे होला तर अन्यले पक्कै खिस्याउँदै प्रश्न गर्थे, स्वर्गका इन्द्र र अप्सराहरु सबै नेवार नै रहेछन् । हाम्रा बिभिन्न किँवदन्तीहरु पनि यसरी नै कपोलकल्पित रुपा सृजना गरिन्थे । कालान्तरमा सबैले यसैलाई विश्वास गर्दथे ।
प्रतियोगितामा रमेको पोखरेलीहरुले वास्तविक सापारुका दिनमा नाम मात्रको ताहामचा निकालेर समापन गर्दछन् । प्रतियोगिताका लागि भने भव्य तैयारी गर्दछन् । उपत्यकामा कैयौ जात्रा सयौ वर्षदेखि चलिरहृका छन् । तर प्रतियोगिताका रुपमा उत्सव नै मनाउने गरेर गरिँदैन ।
लेखक अध्येता हुनुहुन्छ । यो लेख उहाँको फेसबुकबाट लिइएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.