रूपन्देही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालले भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसदबाट दिनु राष्ट्रिय लज्जाको विषय भएको बताउनुभएको छ। कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा रूपन्देहीको तिलोत्तमा बोल्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले आम नेपालीको शीर निहुँरिएको भन्दै संसदको रोष्ट्रमबाट माफी माग्न आग्रह गर्नुभयो।
थापाले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले नबुझेर बोलेको भए चिन्ताजनक र जानीजानी बोलेको भए झन् खतरनाक भएको टिप्पणी गर्नुभयो। माफी नमागे प्रमुख प्रतिपक्षी दलको हैसियतले कांग्रेसले निरन्तर दबाब दिने उहाँको भनाइ थियो।उहाले काग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो
उहाँले संसद सञ्चालनका क्रममा सत्तापक्षले संख्याको दुरुपयोग गरेको आरोप लगाउँदै नियमावली पारित भएको दिनलाई ‘कालो दिन’को संज्ञा दिनुभयो। कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री शाह आफ्नै देशको संसदमा उभिएर नेपालले छिमेकीको सीमा मिचेको बताउने एक्लो व्यक्ति बनेको टिप्पणी गर्नुभयो।





