केशव भण्डारी
बुटवल । केही वर्षयता प्लस टु पछि उच्च शिक्षा अध्ययन गर्न भन्दै विदेश जाने विद्यार्थीको संख्या बढ्दो छ । विदेशमा उच्च शिक्षा अध्ययनसँगै कमाइको अवसर प्राप्त हुने बुझाइका कारण कलिलो उमेरमैं विदेश जाँदा हुने दुःख, पीडा र कष्टलाई धेरैले नजरअन्दाज गरेको पाइन्छ । प्लस टु पछि स्वदेशमैं पनि राम्रा अवसर प्राप्त हुन्छन्, पढ्दै—कमाउँदै गर्न सकिने सम्भावनाहरु छन् भन्ने कुरा धेरै विद्यार्थी र अभिभावलाई जानकारी छैन । स्वदेशमा प्राप्त हुने अवसरको कम तर विदेशी कुराको बढी प्रचार हुँदा विद्यार्थीहरु लहैलहैमा विदेश पुग्ने गरेका छन् । यस्तो पृष्ठभूमिमा प्लस टु को नतिजा आएलगत्तै विद्यार्थीलाई स्वदेशमै अवसर देखाउन बुटवलमा शिक्षा मेला आयोजना गरिएको छ । यस क्षेत्रका १६ वटा प्रतिष्ठित शैक्षिक संस्थासँग विद्यार्थीलाई प्रत्यक्ष जोड्ने उद्देश्यका साथ आयोजना गरिएको मेलामा पन्ध्र सय बढी विद्यार्थीले सहभागिता जनाए । एक्स्पोबाट विद्यार्थीलाई प्लस टु पछि पढ्न सकिने विषय, कलेज, शुल्क तथा स्वदेशमैं प्राप्त हुने अवसरका बारेमा जानकारी दिइएको करियर गाइडका म्यानेजिङ डाइरेक्टर अर्जुन खरेलले बताए । स्वदेशमैं गुणस्तरीय शिक्षा र रोजगारीका अवसर उपलब्ध गराउने पर्याप्त सम्भावनाहरु छन् ।
नेपालमा १ हजार ४ सय बढी कलेजमा ३ लाख ५० हजार विद्यार्थी पढाउन सक्ने क्षमता छ । पछिल्ला वर्षहरुमा विभिन्न कलेजहरुले ‘पढ्दै कमाउँदै’ जस्ता विद्यार्थी केन्द्रीत कार्यक्रम ल्याएर स्वदेशमैं विद्यार्थीलाई गुणस्तरीय र सीपयुक्त शिक्षासँगै कमाइको अवसर समेत दिएका छन् । तर, यस्ता विषयको जानकारी कमैं विद्यार्थी र अभिभावकलाई छ । भैरहवाको अञ्चलमा रहेको साथम कलेजले लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा सिद्धार्थ हस्पिटालिटीको अभिन्न अंगको रुपमा रहेर स्नातक तहमा पढ्दै र कमाउँदै कार्यक्रम अन्तर्गत् हस्पिटालिटी र टुरिजम म्यानेजमेन्टका कक्षा सञ्चालन गरेको छ । कलेजले विद्यार्थीलाई भर्नाको सुरुवात्देखि नैं पाँच तारे होटलमा काम गर्ने अवसर दिने कलेजका कार्यालय प्रमुख निश्चल श्रेष्ठले बताए । एक्स्पोले अभिभावक र विद्यार्थीको सोंच बदल्न सहयोग पु¥याएको आयोजकको दाबी छ । एक्स्पोमा इञ्जिनियरिङ, व्यवस्थापन, स्वास्थ्य विज्ञान, सूचना प्रविधि, कृषि, होटल म्यानेजमेन्टलगायतका विषयमा स्नातक र स्नातकोत्तर तहका कार्यक्रम प्रस्तुत गरिएको थियो । एक्स्पोबाट प्लस टु पछि स्वदेशमैं अवसर छन् भन्ने कुरा जाकारी प्राप्त भएको सहभागी विद्यार्थीहरुले बताए । मेलामा सहभागी कलेजहरूले आफ्ना पाठ्यक्रम, शुल्क, छात्रवृत्ति, करियर गाइडलाइन लगायतका विषयमा दिएको जानकारी विद्यार्थीले रुचीपूर्वक सुनेका थिए । साथै, मेलामा रोबोटिक्स प्रदर्शनी, करियर काउन्सिलिङ, प्रेरणादायी सत्र, लक्की ड्र, रमाइला खेल र सांस्कृतिक प्रस्तुति जस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो । प्लस टु शिक्षाका लागि ठूलो संख्यामा नेपाली विद्यार्थी र रकम बाहिरिँदो स्थितिलाई रोक्न आयोजना गरिएको यस्ता मेलामा बढीभन्दा बढी विद्यार्थीलाई सहभागी गराउन आयोजकले अझैं मेहनत र कसरत गर्नुपर्ने देखिन्छ ।





