भैरहवा, जेठ ७ ।
वेष्टर्न क्रिकेट क्लब भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’को फाइनल प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा वेष्टर्नले तिरुपति क्रिकेट क्लबलाई ६५ रनले हराउँदै सुपरलिगको फाइनल यात्रा तय गरेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९ रनको बलियो योगफल बनायो । उसका लागि सन्देश थापाले अविजित ५२, दिपेश रोकाले ३४, सुमित नेवारले ३३, रन्जित खत्रीले २४, कलम अली मुसलमानले २३ र प्रज्जवल थापाले १० रन बनाए । बलिङमा तिरुपतिका दिवान पुन र बसिर अहमदले २–२ तथा मोहम्मद हुसेन गद्दी, तुलबहादुर थापा, सन्दीप मौर्य र आकाश त्रिपाठीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको तिरुपति ३२ ओभर १ बलमा अलआउट भयो र १ सय ४४ रन मात्रै बनायो । उसका लागि मोहम्मद हुसेन गद्दीले २७, बसिर अहमदले २५, दिवान पुनले २२, आकाश त्रिपाठी, विजय खनाल र तुलबहादुर थापाले १८–१८ रन बनाए । बलिङमा वेष्टर्नका कलम अली मुसलमान र अभिशेष गौतमले ३–३ तथा सन्देश थापा, देव खनाल र सुझाव थापाले १–१ विकेट लिए । खेलमा सन्देश थापा प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिलले विजेता र विके ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन् । यसैगरी सिद्धार्थ उद्योग बाणिज्य संघ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिंक र स्थानीय व्यवसायी अमितकुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन् ।




