तिलोत्तमा । तिलोत्तमाका भित्री सडकमा जथाभावी राखिने निर्माणजन्य सामग्री, ढुंगा–गिटी, क्रंक्रिट, बालुवा वा अन्य वस्तुहरू दुर्घटनाको कारण बन्दै गएको विषय फेरि एकपटक सतहमा आएको छ । सडक सर्वसाधारणको आवागमनका लागि बनाइए पनि कतिपय स्थानमा त्यसैलाई अस्थायी भण्डारणस्थल बनाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाइरहेको देखिन्छ । २०८३ जेठ १ गते राति करिब १० बजे तिलोत्तमा नगरपालिका वडा नं. ८ शान्तिचोकमा यस्तै एउटा दुर्घटना भयो । स्थानीयले सडकमा थुपारेको क्रंक्रिट नदेख्दा मोटरसाइकल दुर्घटनामा परेका ४० वर्षीय शिक्षक जगदीश कंडेल अहिले पनि उपचाररत छन् । तिलोत्तमा–८ चार नम्बर निवासी कंडेल, जो पशुपति माविका शिक्षक हुन्, दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेपछि मणिग्रामस्थित क्रिमसन अस्पतालमा नौ दिनदेखि उपचार गरिरहेका छन् ।
स्थानीयका अनुसार दुर्घटना भएको सडकखण्डमा पर्याप्त सडकबत्तीको व्यवस्था छैन । रातिको समयमा अँध्यारो भएकाले सडकमै थुपारिएको क्रंक्रिट देख्न कठिन भएको र त्यसैका कारण मोटरसाइकल अनियन्त्रित बनेको बताइन्छ । “सडक सार्वजनिक सम्पत्ति हो, तर कतिपयले घर बनाउँदा वा निर्माण कार्य गर्दा सडक नै सामग्री राख्ने ठाउँ बनाउँछन्,” एक स्थानीयले भने, “राति त झन् यस्ता सामग्री देखिँदैनन्, दुर्घटना निम्त्याउँछन् ।”
जानकारहरुका अनुसार सडकमा अवरोधजन्य सामग्री राख्दा दुईपाङ्ग्रे सवारी सबैभन्दा बढी जोखिममा पर्छन्। मोटरसाइकल वा स्कुटर चालकले अचानक अवरोध देख्दा सन्तुलन गुमाउन सक्छन्, जसले सामान्य चोटदेखि ज्यानै जाने दुर्घटनासम्म निम्त्याउन सक्छ । अझ सडकबत्ती नभएको, वर्षा भएको वा कम दृश्यता भएका क्षेत्रमा जोखिम कैयौँ गुणा बढ्ने गर्छ ।
तिलोत्तमाका कतिपय भित्री सडकमा निर्माणका लागि बालुवा, गिटी, इँटा, क्रंक्रिट वा फलामका सामग्री सडककै छेउ वा बीच भागमा राख्ने अभ्यास सामान्यजस्तै देखिन्छ । निर्माणकर्ता वा स्थानीयले “एक–दुई दिनको लागि” भन्दै सडक प्रयोग गरे पनि त्यसको असर सर्वसाधारणले भोग्नुपरेको छ । सडक सुरक्षाका जानकारहरू भन्छन्, सार्वजनिक सडकमा अवरोध खडा गर्ने काम केवल असावधानी मात्र नभई गैरजिम्मेवारी पनि हो । यदि निर्माण सामग्री राख्नै परे सुरक्षित घेराबार, चेतावनी संकेत, रिफ्लेक्टर वा बत्तीको व्यवस्था अनिवार्य गरिनुपर्ने उनीहरूको सुझाव छ ।
शान्तिचोकको घटना एउटा उदाहरण मात्र भएको स्थानीयको भनाइ छ । समयमै नियन्त्रण र निगरानी नगर्ने हो भने सडकमा जथाभावी थुपारिने सामग्री ‘मृत्यु पासो’ बन्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् । स्थानीय तहले सडक प्रयोगसम्बन्धी नियम कडाइका साथ लागू गर्ने र नागरिकले पनि सार्वजनिक सडकलाई निजी गोदाम नठान्ने चेतनाको खाँचो बढ्दो देखिन्छ ।





