पंचकन्या रूपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई

oplus_0

भैरहवा, जेठ ९ ।
२४औं संस्करणको ‘पंचकन्या रुपन्देही सुपरलिग’को उपाधि वेष्टर्न क्रिकेट क्लब, बुटवलले हात पारेको छ । शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब, भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले चौथोपटक उपाधि जित्न सफल भएको हो । गत सिजनको सुपरलिग पनि वेष्टर्नले नै जितेको थियो ।
उपाधि विजेता वेष्टर्नले १ लाख १ रुपैयाँ र उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ प्राप्त गर्यो ।
टस जितेर ब्याटिङमा आएको वेष्टर्नले निर्धारित ५० ओभरमा ४८ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर १ सय ८२ रन बनायो । उसका लागि देव खनालले ३०, दीपेश रोक्काले २७, सन्देश थापाले २६, सुमित नेवारले २०, रन्जित खत्रीले १९, प्रज्जवल थापाले १४, कलम अली मुसलमानले १३, अभिशेष गौतम र सागर गैरेले समान १०–१० रन बनाए ।
बलिङमा लुम्बिनी खुकुरीका बैतुल्लाह खानले ३, अजयकुमार चौहान र शाह आलमले २–२ तथा शंकर राना र सुजन रानाभाटले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको लुम्बिनी खुकुरी २४ ओभर ५ बलमा १ सय ३७ रन बनाउँदा अलआउट भयो । उसलाई सस्तैमा रोक्न वेष्टर्नका अभिशेष गौतमले ८ ओभर ५ बल बलिङ गर्दै २ मेर्डनसहित ३६ रन खर्चेर सर्वाधिक ७ विकेट लिए । यस्तै, सुझाव थापाले ३ विकेट हात पारे । खुकुरीका समीर अली मुसलमानले ६७ र शंकर रानाले ४७ रन बनाए पनि अन्य ब्याटर नचल्दा टीम उपाधि चुम्नबाट चुक्यो । अभिशेष गौतम म्यान अफ द फाइनल भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा वेष्टर्नका अभिशेष गौतम म्यान अफ द सिरिज भई १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबका विपिन आचार्य बेष्ट ब्याटर, मेलवर्नकै अशोक धामी बेष्ट बलर र वेष्टर्नका सुझाव थापा उदयीमान खेलाडी घोषित भए । उनीहरु तीनैजनाले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता र उपविजेता टीमलाई आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्मा, खेल संयोजक प्रथम पराजुली, संघका कोषाध्यक्ष निरजप्रताप खाँण लगायतले पुरस्कार प्रदान गरे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.