सिद्धार्थनगर, रुपन्देही — रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ बाट १४० थान भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट प्रहरी निरीक्षक मान बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले साउन १४ गते बिहीबार राति करिब ९:०० बजे उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर सोहरतगढ निवासी २१ वर्षीय अभिषेक कसौधन र महाराष्ट्र निवासी २४ वर्षीय यश बाउसाहेब ब्राम्हण रहेका छन्। भारतीय नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने खबर पाएपछि खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई कानुन बमोजिम खानतलासी गर्दा उनीहरूको साथबाट रु. ५०० दरका १४० थान (जम्मा रु. ७० हजार) नक्कली भारतीय रुपैयाँ, विभिन्न कम्पनीका २ थान मोबाइल र २ थान भारतीय आधार कार्ड बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई सम्मानित रुपन्देही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।





