तीजले पारिवारिक एकता, सामाजिक सद्भाव र महिलाको आत्मबल अभिवृद्धि गर्ने
बुटवल । अखिल नेपाल महिला संघ (अनेमसंघ), रुपन्देहीले आज बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । तीजको सांस्कृतिक, सामाजिक र प्रगतिशील पक्षबारे छलफल समेत गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य लिला गिरीले तीजलाई केवल नाचगानमा सीमित नराखी यसलाई महिलाको हक, अधिकार र समानताका विषयसँग जोडेर प्रगतिशील शैलीमा मनाउनुपर्नेमा जोड दिनुभयो ।
परम्परागत पर्वलाई आधुनिक चेतना र सामाजिक रुपान्तरणसँग समन्वय गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले तीजले पारिवारिक एकता, सामाजिक सद्भाव र महिलाको आत्मबल अभिवृद्धि गर्ने भएकाले यसको महत्व अझ बढेको चर्चा गर्नुभयो । सो अवसरमा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, जिल्ला अध्यक्ष यज्ञ गैरे, प्रदेश कमिटी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, प्रदेश सदस्य गोपाल राना, ज्ञानु केसी, कल्पना थापा, विमला श्रेष्ठल सिता खनाल गायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमका वक्ताहरुले तीजलाई महिलाहरुको सामाजिक न्याय, अधिकार र समानताको पक्षमा जागरण अभियानको रुपमा उपयोग गरिनुपर्नेमा जोड दिएका थिए । अनेमसंघ जिल्ला अध्यक्ष विष्णु केसीको अध्यक्षता दुर्गा पाठक पाण्डे संचालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मौलिक ,प्रगतिशिल तिजगित तथा नृत्य प्रस्तुत गरीएको थियो ।




