बुटवल । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा बुटवल–७, दीपनगरस्थित राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले रथयात्रा निकालेको छ । रथयात्रामा स्थानीय भक्तजन, विद्यार्थी, शिक्षक, धार्मिक संघसंस्था प्रतिनिधि तथा धार्मिक गुरुहरुको सहभागिता रहेको थियो ।
रथयात्रा दीपनगरस्थित राधाकृष्ण मन्दिरबाट सुरु भई विभिन्न टोल परिक्रमा गर्दै पुनः मन्दिर परिसरमै पुगेर सम्पन्न भएको थियो । यात्राको क्रममा भक्तजनहरुले भजन–कीर्तन तथा नाचगान गर्नुको साथैं स्थानीयलाई फूलमाला र प्रसाद वितरण गरेका थिए । हिन्दू परम्पराअनुसार रथयात्रा धार्मिक श्रद्धा, आस्था र भक्ति प्रदर्शनको प्रतीक मानिन्छ ।
कृष्ण जन्माष्टमीको अवसरमा निकालिने रथयात्राले सत्य, धर्म र न्यायको मार्गप्रति मानव समाजलाई प्रेरित गर्ने विश्वास गरिन्छ । रथयात्रामा सहभागी हुने भक्तजनलाई पुण्य प्राप्त हुने, पापमोचन हुने र समाजमा एकता, सद्भाव र आपसी भाईचारा बढ्ने धार्मिक विश्वास रहिआएको छ । धार्मिक गुरुहरुले रथयात्रा जस्तो सांस्कृतिक परम्पराले समाजलाई धार्मिक मूल्य, संस्कार र सकारात्मक जीवनशैलीतर्फ अभिमुख गराउने भएकाले यसको निरन्तरता महत्वपूर्ण रहेको बताएका छन् ।





