एमालेले मुलुकका जिल्ला सदरमुकाम तथा ठूला शहरमा जनप्रदर्शन,र जनसभा

 

बुटवल, २९ कात्तिक ।
नेकपा एमालेले शनिबार मुलुकका अधिकांश जिल्ला सदरमुकाम तथा ठूला शहरमा जनसभा गरेको छ । प्रतिगामी षडयन्त्रविरुद्ध देशभर जनपरिचालन गर्ने केन्द्रीय निर्णय अनुसार मुलुकभर एकसाथ जनसभा गरिएको हो । यसअघि पार्टीले कार्तिक २५ गते मुलुकभरका ७५३ पालिकामा जनप्रदर्शन गरेको थियो । भदौ २३ र २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, प्रतिगामी षड्यन्त्र, संसदको गैरसंवैधानिक विघटन, तोडफोड, आगजनी र लुटपाटमा संग्लनलाई कारवाहीको माग गर्दै जनसभा आयोजना गरिएको हो । यसैबीच नेकपा एमाले रुपन्देही जिल्ला कमिटीको आयोजनामा शनिबार बुटवलमा जनप्रदर्शनसहित जनसभा गरिएको छ । राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शन मिलनचोक, बसपार्क हुँदै ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो । पार्टीका नेता, कार्यकर्ता, युवा, विद्यार्थी, जेनजीको सहभागितामा रहेको प्रदर्शनका सहभागीहरुले ‘प्रतिनिधिसभा पुनःस्थापना गर, प्रतिगमन मूर्दावाद, भदौ २३ र २४ को घटनाको निष्पक्ष छानविन गर’ जस्ता नारा लगाएका थिए । जनसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिव छबिलाल विश्वकर्माले संविधान संसोधनबाट निर्वाचन प्रणालीमा सुधार गरेर मात्र ताजा जनादेशमा जानुपर्ने बताउनुभयो । जेनजीले उठाएका मुद्दालाई सम्बोधन गर्न पनि संसद पुनःस्थापनापछि संविधान संशोधन गर्नुपर्ने बताउँदै उहाँले यसो गर्दा संविधानको रक्षा समेत हुने उल्लेख गर्नुभयो । पार्टीका पोलिटब्यूरो सदस्य लिला गिरीले हरेक संकटमा देशको अगुवाईं एमालेले गर्दै आएको स्मरण गर्दै अहिलेको अन्यौलबाट मुलुकलाई निकास दिलाउने काम पनि एमालेले नैं गर्ने दाबी गर्नुभयो ।
एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेले वास्तविक जेनजीले उठाएका मुद्दामा आफूहरुको पनि सहमति रहेको जनाउँदै उनीहरुको आन्दोलनलाई प्रतिक्रियावादीहरुले दुरुपयोग गरेर भदौ २४ गते मुलुकमा ध्वस मच्चाएको बताउनुभयो । कुनै पनि भ्रष्टाचारीको पक्षमा आफूहरु नरहने स्पष्ट पार्दै नेता गैरेले एमालेका कुनै नेताहरुले भ्रष्टाचार गरेको भए कारवाही गरेर देखाउन तर, भ्रष्टाचारलाई स्टण्डवाजीको विषय बनाउन सरकारलाई चेतावनी दिनुभयो ।
युवा नेता राजु गुरुङ्गले जेनजी आन्दोलनको नाममा मुलुकभर विध्वस मच्चाइएकाले त्यसमा संग्लनलाई कारवाहीको माग गर्दै एमाले सडकमा आएको बताउँदै एमालेलाई कमजोर नठान्न चेतावनी दिनुभयो ।
युवा नेता सुमन पुरी, जेनजी नेता सागर न्यौपानेले समेत सम्बोधन गरेको जनसभाको सञ्चालन पार्टी जिल्ला उपाध्यक्ष हितराज पन्थीले गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.