बुटवल । नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले विद्युतीय दुर्घटना न्यूनिकरण र विद्युत चुहावट नियन्त्रणका लागि विद्यालयमा सुरक्षा सचेतना कार्यक्रमको तयारी गरेको छ । प्राधिकरणले लुम्बिनी प्रदेशभरका वितरण केन्द्रमार्फत आउँदो आइतबार अर्थात् मंसिर ७ गतेदेखि विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी निःशुल्क विद्युतीय सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्न थालिएको हो । कार्यक्रममार्फत विद्यार्थीद्धारा घर–घरमा विद्युत सुरक्षा सम्बन्धी जनचेतना फैलाउने उद्देश्य राखिएको प्राधिकरणका प्रमुख हरी प्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत् पहिलो चरणमा विद्यालयमार्फत सचेतना अभियान सञ्चालन गर्न थालिएको बताउनुभयो । थप जानकारीका लागि सम्बन्धित वितरण केन्द्र वा विद्युत सुरक्षा सचेतना कार्यक्रम संयोजक रामप्रसाद ज्ञवाली (९८५७०३२३५३) मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ ।





