तिलोत्तमा । करहिया—मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सेवा क्षेत्रमा पाइप लाइन विस्तारलाई तीव्रता दिएको छ । सेवा क्षेत्रमा उपभोक्ताको मागअनुसार स्वच्छ खानेपानीको पहुँच वृद्धिका लागि पाइपलाइन विस्तारलाई प्राथमिकता दिइएको संस्थाका अध्यक्ष यज्ञ गैरेले जानकारी दिनुभयो ।
संस्थाले हाल १२० किलोमिटर पाइपलाइनको सञ्जालमार्फत् उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । पछिल्लो दुई वर्षमा दश किलोमिटर पाइपलाइनको सञ्जाल विस्तार गरेको संस्थाले वडा नं. ८ को चार नंबर र वडा नं. १२ को मक्रहरको ओभरहेड टंकीबाट उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।

तिलोत्तमाको वडा नं. ७, ८, ९, १०, ११ र १२ लाई सेवा क्षेत्र बनाएको संस्थामार्फत् हाल २ हजार ८ सय घरधुरीमा खानेपानीको धारा जडान भएको छ । बुधबार सम्पन्न संस्थाको १५ औं साधारणसभामा अध्यक्ष गैरेले वडा नं. १० र १२ को पुरै भाग समेट्ने गरी १०५ किलोमिटर पाइपलाइन विस्तार हुने गरी काम अगाडि बढिरहेको जानकारी दिनुभयो । मक्रहरको ओभरहेड टंकीमार्फत् हाल ३० किलोमिटर पाइपलाइन विस्तार भइ ६५ घरधुरीमा धारा जडान भैसकेको संस्थाले जनाएको छ ।

अध्यक्ष गैरेले पक्की सडक बनाउँदा र विद्युत् पोल सार्ने तथा गाड्दा खानेपानीका पाइपलाइन फुट्ने तर यसको जिम्मवार निर्माणकर्ताले नलिँदा व्यवस्थापनमा कठिनाइ उत्पन्न हुने गरेको बताउनुभयो ।
संस्थाका सचिव निलकण्ठ ज्ञवालीको सञ्चालन तथा उपाध्यक्ष शान्ता बस्याल भट्टराईको स्वागतमा सम्पन्न साधारणसभामा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडाध्यक्ष कृष्ण प्रसाद पौडेल लगायतका जनप्रतिनिधिहरुको आतिथ्य रहेको थियो । साधारणसभा उद्घाटन सत्रका वक्ताहरुले खानेपानीमा क्यालसियमको मात्रा बढी हुँदा धारा, खानेपानीका टंकी, ट्वाइलेट, बेसिन लगायतका उपकरणमा समस्या आउने गरेको भन्दै यो समस्या न्यूनीकरणका लागि आवश्यक पहल गर्न संस्थालाई सुझाव दिएका थिए । साधारणसभामा लेखा संयोजक राजकुमार वाग्लेले लेखा समितिको प्रतिवेदन, उपाध्यक्ष शान्ता बस्याल भट्टराईले वार्षिक तथा दीर्घकालीन कार्ययोजना, कोषाध्यक्ष सरस्वती तिवारीले अनुमानित आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।






