काठमाडौंको ग्वार्कोको जस्तै फ्लाइओभर अब बुटवल–गोरुसिङ्गे सडकमा पनि बन्दै, रुपन्देहीको पाँच ठाउँमा फ्लाइओभरको काम

बुटवल । हाल काठमाडौंको ग्वार्को क्षेत्रमा देखिने फ्लाइओभर अब रुपन्देही र कपिलबस्तुको सडकमा पनि निर्माण हुने भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार योजनाले पहिलोपटक यस क्षेत्रमा फ्लाइओभर बनाउने तयारी गरेसँगै अब सडक पूर्वाधार निर्माण आधुनिक बन्दै जाने संकेत देखिएको छ । योजनाअनुसार रुपन्देहीको जीतगढी, नयाँगाउँ, तामनगर, बुद्धनगर, मूर्गिया र कपिलबस्तुको जीतपुर क्षेत्रमा फ्लाइओभर निर्माण गरिनेछ । यी स्थानहरू उच्च सवारी चाप हुने चोकका रूपमा चिनिन्छन् । काठमाडौंको ग्वार्कोमा जस्तै संरचना निर्माणले सडकको जाम घटाउने र यात्रालाई सहज बनाउने सडक योजनाको अपेक्षा छ । योजना प्रमुख इञ्जिनियर कुशलता न्यौपानेले सडक विस्तारलाई आधुनिक र सुरक्षित बनाउन फ्लाइओभरलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
विस्तारको क्रममा रहेको पूर्व पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड ५० किलोमिटर लम्बाइको छ । हाल यो सडक निर्माणमा २४ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । रुपन्देही र कपिलबस्तुमा समान २५–२५ किलोमिटर सडक विस्तारको काम भैरहेकोमा निकट भविष्यमा ८ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरिएको छ ।

सडक स्तरोन्नतीको काम अघि बढ्दै जाँदा निर्माण सामग्रीको उपलब्धतामा कमी आएकाले समस्या झोल्नु परेको निर्माण कम्पनीले जनाएको छ । नदीजन्य सामग्रीको अभाव, माटो तथा भस्कट नपाइने समस्या र कपिलबस्तु खण्डमा २०० विद्युत् पोल सार्नुपर्ने चुनौती देखिएको योजनाले जनाएको छ । साथै, मध्यपूर्वको तनावका कारण बिटुमिन आपूर्ति प्रभावित हुन सक्ने जोखिम पनि उत्तिकै छ । यी सबै चुनौतीका बाबजुद फ्लाइओभरसहितको सडक विस्तारले यस क्षेत्रको यातायात व्यवस्थापनमा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ । योजना समयमै सम्पन्न भएमा पूर्व–पश्चिम राजमार्गको यो खण्ड आधुनिक, सुरक्षित र द्रुत आवागमनका लागि नमुना बन्ने अपेक्षा गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.