नारायणगढ र गैंडाकोट जोड्ने नयाँ सिग्नेचर पुलको निर्माण सुस्त हुँदा तोकिएको समयमा निर्माण कार्य नसकिने जोखिम बढेको छ । हालको पुल ४५ वर्ष पुरानो भएकाले सरकारले त्यही ठाउँमा नेपालकै पहिलो केवल स्टेट –सिग्नेचर पुल निर्माण गर्न थालेको हो । तर, शिलान्यास भएको अढाइ वर्षपछि बल्ल पुल निर्माण कार्य सुरु भएकाले तोकिएको समयमै निर्माण सम्पन्न हुनेमा स्थानीय बासिन्दाहरु आशावादी देखिँदैनन् । निकै भिडभाड हुने नारायणी नदीको हालको पुलको उत्तरतर्फ नेपालकै पहिलो सिग्नेचर पुल बनिरहेको हो । निर्माण कम्पनीले मंसिरदेखि निर्माणको काम थालेकोमा हालसम्म ३८ मिटर गहिराइ रहेको टेस्ट पाइलको काम सकिएको छ । पुल निर्माणको लागि २०८० जेठ १९ मा सम्झौता भए पनि पुलको डिजाइन स्वीकृतिमै ढिलाइ हुँदा अहिले भौतिक प्रगति नगन्य छ भने आर्थिक प्रगति करिब ७ प्रतिशत हाराहारीमा छ । काम अघि बढिसकेकाले अबको तीन वर्षभित्रमा पुल बनाइसक्ने निर्माण पक्षको दाबी छ । नेपालकै पहिलो आइकोनिक ब्रिजको रुपमा निर्माण गर्न लागिएको यो पुलको कुल लागत एक अर्ब ६८ करोड रुपैयाँ छ । अहिले प्रि–मनसुनमै नारायणी नदी बढ्न थालेकाले निर्माणमा थप ढिलाइ हुने देखिएको छ





