सिटिइभिटी प्रदेश स्तरीय व्यवस्थापन समिक्षा गोष्ठी सुरु

 

बुटवल, मंसिर ११ ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) लुम्बिनी प्रदेशको आयोजनामा शिक्षालयहरुमा कार्यक्रम कार्यान्वयन तथा परिक्षा प्रणाली सवलीकरणका लागि प्रदेश स्तरीय व्यवस्थापन समिक्षा गोष्ठी सुरु भएको छ ।
कोरीया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल तामनगरमा बिहिवारदेखि सुरु भएको दुई दिने समिक्षा गोष्ठीको उद्घाटन गर्दै सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईले प्राविधिक शिक्षालयहरुमा विद्यार्थी संख्या घटिरहेको अवस्थामा शिक्षालय मर्ज र दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने धारणा राखे । ‘व्यवसायीक शिक्षा भनेको साधारण शिक्षा जस्तो सर्टिफिकेट प्राप्त भएर स्वरोजगार हुने शिक्षा होइन, संस्था स्थापना गरेर विद्यार्थी भर्ना गर्ने तर बजारमा त्यसअनुसारका रोजगारीका अवसर सिर्जना गर्न नसक्दा समस्या देखिएको छ ।’, उनले भने । विद्यार्थीहरु अवसरको खोजीमा विदेश पलायन हुने क्रम बढेको भन्दै उनले यहाँका प्राविधिक शिक्षालयमा अध्ययन गरेका बिद्यार्थीले स्वदेशमै अवसर पाउने गरी दक्ष जनशक्ति उत्पादनमा केन्द्रीत हुनुपर्ने बताए । सिटिइभिटीलाई सामान्य प्रशासनबाट शिक्षा प्रशासनमा लैजान नसक्दा समस्या समाधानका लागि समस्या भइरहेको उनको भनाई थियो । शिक्षक, कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र महँगी भत्ताका लागि पहल भइरहेको उनले बताए ।
कार्यक्रममा सिटिइभिटी लुम्बिनी प्रदेशका निर्देशक ई.अच्युतराज तिमल्सिनाले प्राविधिक शिक्षालय विस्तारको नाममा आबश्यक पूर्वाधार कम हुँदाहुँदै पनि महत्वकांक्षी ढंगले कार्यक्रम बिस्तार गर्दा दक्ष जनशक्ती उत्पादन गर्न नसकिएको बताए । ‘देशभर प्राविधिक शिक्षालय खुल्दा विद्यार्थी संख्या डाइभर्ट भएको छ । जसले गर्दा शिक्षालयमा विद्यार्थी संख्या घट्दो क्रममा छ यसलाई स्वभाविक रुपमा नै दिनुपर्छ ।’, उनले भने, ‘अहिलेको अवस्थामा दक्ष जनशक्तीनै देश विकासको मेरुदण्ड हो । जबसम्म हामिले दक्ष जनशक्ती उत्पादन गर्न सक्दैनौ तबसम्म कुनैपनि देशमा रोजगारी सिर्जना पनि हुँदैन र देशको विकास पनि हुँदैन ।’
सिटिइभिटी लुम्बिनी प्रदेशका उपनिर्देशक यादव सुवेदीले प्राविधिक शिक्षाको विकास र विस्तार गर्दै यसको प्रभावकारीता बृद्धि गर्ने उद्देश्यले २०७८ सालदेखिनै प्रदेश स्तरीय गोष्ठी आयोजना गर्दै आएको बताए । एक वर्षमा सम्पन्न भएका कार्यक्रमहरुको समिक्षा, आगामी योजनाहरुको छलफल गर्दै समस्या समाधानका लागि यो कार्यक्रम प्रभावकारी भएको उनले बताए ।
कार्यक्रममा फोरम फर टेक्नीकल एजुकेशन लुम्बिनी प्रदेशका अध्यक्ष बसन्तराज खनालले नयाँ प्राविधिक शिक्षालय खोल्ने भन्दापनि सञ्चालनमा रहेका शिक्षालयहरुको शैक्षिक गुणस्तर बढाउनतर्फ ध्यान दिनुपर्ने बताए । लहडमा देशभर प्राविधिक शिक्षालय खुल्दा त्यसले प्रदान गर्ने शिक्षाको गुणस्तर खस्कीदै गएको र विद्यार्थी पाउनसमेत समस्या भएको जनाउदै उनले आबश्यकताका आधारमा शिक्षालय सञ्चालन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
फोरम फर हेल्थ केन्द्रीय समितिका सल्लाहकार चिरञ्जीवी जोशीले देश विदेशका लागि आबश्यक दक्ष जनशक्ती उत्पादनमा सिटिइभिटीले महत्वपूर्ण भूमिका खेलेको बताए । पछिल्लो समय नर्सिङ क्षेत्रमा कर्मचारी पाउन कठिन भइरहेको अबस्थामा सरकारले समस्या समाधानका लागि पहल गर्नुपनेै बताए ।
नीजि प्राविधिक शिक्षालय महासंघका उपाध्यक्ष अर्विनचन्द्र आचार्यले गुणस्तरीय शिक्षा र दक्ष जनशक्ती उत्पादनका लागि दक्ष शिक्षक आबश्यक पर्ने भन्दै बजारको माग अनुसार शिक्षालयहरुमा नयाँनयाँ कार्यक्रम थप गर्दै जानुपर्ने बताए । नयाँ विद्यार्थी भर्ना गर्दा उसको जीपिए र क्षमताका आधारमा भर्ना लिनुपर्नेमा उनले जोड दिए ।
सिटिइभिटी कर्मचारी संगठन लुम्बिनी प्रदेशका अध्यक्ष निरज तिवारीले कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने र महँगी भत्ताको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । शिक्षालयको मागअनुसार कर्मचारीको व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए । शिक्षालयमा एक बिषयको कर्मचारी माग हुँदा प्रदेश र केन्द्रबाट अर्कै विषयको कर्मचारी पठाउने प्रवृतीका कारण समस्या समाधान हुन नसकेको बताए । २५० जना विद्यार्थीको कोटामा १०० जना विद्यार्थी पुर्‍याउनसमेत नसकिएको अबस्थामा मागअनुसार नयाँनयाँ कार्यक्रम थप गर्दै जानुपर्नेमा उनले जोड दिए ।
बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष बसन्त ढकालले यूवाको बढ्दो विदेश पलायन रोक्न प्राविधिक शिक्षालयले महत्वपूर्ण भूमिका खेलेको भन्दै शिक्षक कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल गर्नुपर्ने बताए । रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्षमा हरिबहादुर खत्रिले शिक्षालय र शिक्षक कर्मचारीको सम्बन्ध राम्रो भएमात्रै विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गरी दक्ष जनशक्ती उत्पादन हुने बताए । रुपन्देही व्यापार संघका सहसचिव नलराज नेपालले आन्तरीक रुपमा छलफल गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
शुक्रबार समापन हुने समिक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका ११ वटै आंगिक शिक्षालयका प्राचार्यहरुको सहभागिता रहेको छ । कार्यक्रममा सहभागि प्राचार्यहरुले आआफ्‌नो भनाईसहित आफूले सुरु गरेका असल अभ्यास, शिक्षालयको अबस्था र समस्या प्रस्तुत गर्नेछन् । यो गोष्ठीमा उठेका विषय र समस्याहरुलाई टिपोट गरी समाधानका लागि केन्द्रमा पठाइनेछ । कार्यक्रमको सञ्चालन प्राविधिक अधिकृत सबिना पौडेलले गरेकी थिइन् । लुम्बिनी प्रदेशमा ११ वटा आंगिक, ७४ वटा निजी, ८६ वटा टेक्स र ५ वटा साझेदारी गरी १७६ वटा प्राविधिक शिक्षालय रहेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.