लुम्बिनी प्रदेश सुरक्षा परिषद्को बैठकमा सहभागी हुन रुपन्देही आएका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र बुटवल उद्योग वाणिज्य संघका पदाधिकारीबीच बुटवलको योगीकुटीमा भेटघाट तथा छलफल भएको छ ।
छलफलका क्रममा संघका अध्यक्ष हरिप्रसाद अर्यालले गत भदौ २३ र २४ मा जेन–जी आन्दोलनका क्रममा औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले निजी क्षेत्र त्रसित र अन्यौलमा परेको जानकारी गराउनु भयो । उहाँले यस्ता गतिविधिमा संलग्नलाई चाँडो पहिचान गरी कानुनी कारवाही गर्न र भरपर्दो सुरक्षा वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष अर्यालले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उद्योग–व्यवसायलाई भयरहित वातावरणमा सञ्चालन गर्न नसकिए अर्थतन्त्रमा गम्भीर असर पर्ने बताउनु भयो । उहाँले भन्नुभयो–‘मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान रहेको निजी क्षेत्र सुरक्षित नहुँदा मुलुककै आर्थिक स्थिरता संकटमा पर्न सक्छ ।’
छलफलमा आईजीपी कार्कीले उद्योग, व्यापार र लगानी सुरक्षित रहे देश समृद्धितर्फ अघि बढ्ने भएकाले निजी क्षेत्रलाई सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारत र चीन जस्ता छिमेकी मुलुकले औद्योगिक विकास र निर्यात वृद्धिका आधारमा तीव्र आर्थिक प्रगति हासिल गरेको उल्लेख गर्दै उहाँले नेपालमा पनि निजी क्षेत्र र सरकारबीच समन्वय बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।
आईजीपी कार्कीले नेपाल प्रहरी सुरक्षामा कुनै कमी हुन नदिने बताउँदै भन्नुभयो–“चन्दा उठाउने, चोरी–डकैती गर्ने र उच्छृङ्खल गतिविधि देखाउनेलाई कानुनी दायरामा ल्याइन्छ । उद्योगी–व्यवसायी ढुक्क भएर काम गर्न सक्ने वातावरण बनाउने जिम्मा प्रहरी प्रशासनले लिन्छ ।”





