बुटवल। पछिल्लो समय नेपाली मौलिक संस्कृतिका रुपमा रहेको लोक दोहोरी गीतहरुमा विकृति बढ्दै गएको भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले चिन्ता जनाएको छ । अध्यक्ष रिता थापा मगरले सामाजिक सञ्जाल मार्फत संस्था तपाईँ हाम्रै भएकोले कसैलाई समस्यामा पारौं भन्ने कुनै ध्येय नरहेको तर विकृति बढ्दै गएकोले सुध्रिनु पर्ने बताउनुभएको छ ।
नेपाली मौलिक लोक गीतको संरक्षण, सम्बर्द्धन गर्नु सबैको कर्तव्य भएकोले अरुको भन्दा लोक कलाकारको जिम्मेवारी बढी हुनुपर्ने उहाँको भनाइ छ । नेपाली लोक गीत सङ्गीतको बढ्दो बजार र बिस्तारलाई धमिलो बनाएर केही खराब तत्वले दिग्भ्रमित बनाउन खोजिरहेको अध्यक्ष थापाको आरोप छ । सचेत बन्न र सुधारको काममा नजरअन्दाज नगर्न समेत उहाँले सबैमा आग्रह गर्नुभएको छ ।
भोलि सबै कुरा हाम्रो वशमा नरहन पनि सक्ने भन्दै उहाँले त्यो दिन पछुताउनु सिवाय केही नरहने चेतावनी पनि दिनुभएको छ ।




